
आजदेखि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्दैछन् ।
यी दुवै कम्पनीले एक आपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट निर्जीवन बीमा व्यवसायका लागि एकीकृत कारोबार थालनी गरेका हुन् ।
मर्जपछि बनेको नयाँ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सलामा रहने छ । यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि नेपाल बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिएको थियो ।
कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको फागुन २४ गतेको बैठकले फागुन २९ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो । दुई कम्पनी विच १०० बराबर ८० को अनुपातमा मर्जर भएको हो । मर्जरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्नेछ ।
मर्जरपछि संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।