प्रभु क्यापिटल लिमिटेडले शनिबार ‘ग्लोबल मनी विक—२०२३’ का अवसरमा युवा केन्द्रित विविध पुँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम काठमाण्डौको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न भएको हो। काठमाण्डौ बहिरा संघ नेपालअन्तर्गत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो।

कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए।

कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश के–कसरी गर्ने ? मेरो सेयर के–कसरी चलाउने ? सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तर्क्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा काठमाण्डौ बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले सेयर बजारसम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताए। उनीहरुले आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको सेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए।

कार्यक्रमको समापनमा प्रभु क्यापिटलको कार्य सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले ‘ग्लोबल मनी विक २०२३’का अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन्। तालिमप्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तर्क्रियामा सक्रिय सहभागिता देख्दा अत्यन्त खुसी लागेको उल्लेख गर्दै उनले जीएमडब्ल्यूको यस वर्षको विषयवस्तु ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ मूल नारा लिने यसको प्रमुख सन्देश युवावस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरी सोलाई गुणात्मक वृद्घि गर्न पुँजीबजा समेत एक राम्रो स्रोत रहेको जानकारी दिइन्। उनले उपस्थित सबैजनालाई पुँजीबजारमा लगानी गर्न प्रोत्साहन गरिन्।

यसका साथै शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका क तथा ख वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिइन्।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया