मोदी इनर्जी लिमिटेड कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत चैत ९ गतेसम्म आईपीओ बिक्री गरिएको थियो। स्थानीयले भने आज चैत १६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ। जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा–३, मोदी गापा–५, मोदी नपा–२, मोदी गापा–६ र कुश्मा नपा–८ का बासिन्दाहरुका लागि निष्कासन गरिएको छ।
त्यस्तै सर्वसाधारणलाई छुट्याइएको १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले पर्वतको कुस्मास्थित सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकबाट खरिद आवेदन दिन सक्नेछन्।

Online Arthik










