महालक्ष्मी विकास बैंकले आज चैत २९ गते बुधबारदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

 

महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११% महालक्ष्मी डिबेन्चर २०८९’ जारी गरेको हो । यसमा वार्षिक ११% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया