आँखुखोला जलविद्युत कम्पनीले दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। कम्पनी सचिव शम्भु तिमल्सिनाका अनुसार आँखुखोला-२ जलविद्युत आयोजनामा लगानीका लागि यो हकप्रद निष्कासन गर्ने निर्णय भएको हो। २० मेगावाटको उक्त जलविद्युत आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्नेछ।

उक्त आयोजना लगानी र प्रतिफलका दृष्टिकोणले उपयुक्त देखिएकाले ६० प्रतिशत लगानी गर्न लागिएको तिमिल्सिनाले बताए।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड छ। कम्पनीले यसको १:२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने लागेको हो।

हकप्रद पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेस गर्ने र पूर्व स्वीकृति पाइसकेपछि आगामी साधारण सभाबाट अनुमोदन हुने उनले बताए।

कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्रीबाट प्राप्त १ अर्ब ६० करोड रुपैयाँमध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको आँखुखोला-२ आयोजनामा स्वपुँजीको रुपमा लगानी गर्ने छ।

बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने तिमिल्सिनाले बताए।

 

तपाईको प्रतिक्रिया