बैंकरहरुले ब्याजदर घटाउँदै लैजाने संकेत गरेपछि सेयर बजारले १९ सय विन्दु पार गरेको छ। झन्डै एक महिना पछि बजार फेरि यो विन्दुमा उक्लिएको हो। १८०७ को न्यूनतम विन्दुसम्म ओर्लिएको बजार, त्यसयता निरन्तर बढ्दो छ। पछिल्लो ६ दिनमै बजारले १९ सय पार गरेको हो।

सोमबार बैंकर संघले पत्रकारहरु माझ बैंकहरुको आधार दर घट्दै गएकाले कर्जाको ब्याजदर क्रमश: घट्ने बताएका थिए। कर्जाको ब्याजदर नै ११ प्रतिशतमा ओर्लिने उनीहरुको अनुमान थियो।

अर्कोपट्टि राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर फेरबेदल गर्ने व्यवस्था गरेको छ। प्रत्येक तीन-तीन महिनामा समायोजन गर्न मिल्ने कर्जाको ब्याजदर अब आधार दर घटे हरेक महिना घट्छ। बैंकहरुले पछिल्लो तीन महिनाको औसत आधार दरलाई गणना गरी कर्जामा समायोजन गर्छन्। पछिल्लो तीन महिनाको औसत आधार दर पनि १०.४६ प्रतिशतमा ओर्लिसकेको छ।

गत साताको मंगलबारदेखि बढ्न थालेको सूचक १०९ अंक नाघेको हो। समाचार तयार पार्दासम्म बजार २८ अंक उक्लिसकेको छ, भने सूचक १९१८.९६ को विन्दुमा कारोबार हुँदैछ। चार करोडको सेयर किनबेच भइसकेको छ।

 

तपाईको प्रतिक्रिया