
समिट लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक इस्यु) निष्कासन गर्ने विशेष प्रस्तावसहित १४औं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तको जेठ १३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार असार ३ गते आइतबार अरनिको पार्टी प्यालेस बनेपामा साधारण सभा हुँदैछ।
सभामा लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनीहरुको सेयर अनुपात ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने छ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर वितरणपछि अपुग भएको सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियम मार्फत निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको हो।
हाल लघुवित्तको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ छ। गत आर्थिक वर्षको नाफाबाट लघुवित्तले यसको १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख बराबकरो बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्दै छ।
यस्तै, सभामा समिट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभ्न तथा गाभिनका लागि मर्जर प्रयोजनको अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने छ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिनका साथै लाभांश लाउनेछन्।