
घोराही सिमेन्टले आइपीओमा आरक्षण दिएकामध्ये कसैलेपनि शतप्रतिशत सेयर किनेका छैनन्। कम्पनीले स्थानीय, वैदेशिक रोजगार, म्युचुअल फण्ड र कर्मचारी गरेर कुल चार पक्षलाई आइपीओमा आरक्षण दिएको थियो। तर छुट्याएको सेयर कसैले पनि पूर्णरुपमा आवेदन दिएका छैनन्।
आवेदन नपरेको सेयरहरु सर्वसाधरणमै मिसाएर कम्पनीले बिक्री गर्दैछ। सर्वसाधारणलाई ४३५ रुपैयाँमा बिक्री गर्दैछ। ३३५ रुपैयाँ प्रिमियम हो।
कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई आइपीओ बिक्री गरेको थियो। स्थानीयलाई ३ लाख ९७ हजार १९० कित्ता र श्रमिकहरुलाई ७ लाख ५४ हजार ६६१ कित्ता छुट्याएको थियो। स्थानीयलाई ४०० र श्रमिकलाई ४३५ रुपैयाँ तय गरेको थियो।
तर आरक्षित सेयरमध्ये स्थानीयको तर्फबाट १९.४९ प्रतिशत मात्रै आवेदन परेको छ। त्यस्तै, श्रमिकहरुले आफ्नो भागको ८०.३५ प्रतिशत मात्रै आवेदन दिएका हुन्।
यता कर्मचारीलाई आरक्षित कुल ३ लाख ७७ हजार ३३१ कित्तामध्ये जम्मा ५.१८ प्रतिशत बिकेको छ। कम्पनीमा कर्मचारीले आइपीओ बहिष्कार नै गरेको देखिन्छ।
म्युचुअल फण्डलाई पनि कर्मचारी जति नै सेयर छुट्याएको थियो। तर उनीहरुले पनि शतप्रतिशत सेयरमा आवेदन दिएका छैनन्। ३ लाख ७७ हजार ३३१ कित्तामध्ये ८७.१८ प्रतिशत मात्रै आवेदन परेको छ।
आरक्षितमध्ये आवेदन नपरेको ८ लाख ७४ हजार ३८२ कित्ता सर्वासाधारणलाई बिक्री गर्ने भएको छ। कम्पनीले जेठ ३२ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने भएको छ। सर्वसाधारणले कुल ६९ लाख ११ हजार ६७० कित्तामा आवेदन दिन मिल्छ।