आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा १२ लाख ९० हजार ७४१ वटा आवेदन परेको छ । यद्यपि यो पूरै संख्यामध्ये कतिपय आवेदन प्रक्रिया पूरा नहुँदा रद्द हुन सक्नेछन् । कम्पनीले कुल ९६ लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको थियो ।
धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार सो संख्याको आईपीओ १० कित्ताका दरले ९ लाख ६० हजारलाई बाँडफाँट हुनेछ । सीडीएस एण्ड क्लियरिङका अनुसार आवेदनको अन्तिम दिनसम्म कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ता आवेदन माग भएको छ । यो कम्पनीको आईपीओमा कुल ३ अर्ब ७४ करोड रुपैयाँको माग भएको हो । प्रतिकित्ता अंकित मूल्य १ सयमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गर्दै प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले कम्पनीको आईपीओ खुलेको थियो । पछिल्लो पटक सञ्चालनमा आएको यस जीवन बीमा कम्पनीको चैत मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । सो अवधिसम्म प्रतिसेयर आम्दानी ९ रुपैयाँ २१ पैसा तथा सञ्चित नाफा १ अर्ब २६ करोड रुपैयाँ बराबर रहेको विवरणपत्रमा उल्लेख छ । केयर नेपालले कम्पनीलाई ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले आफ्नो दायित्व पूरा गर्न कम्पनी सफल रहेको, मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ । केयर नेपालले सबैभन्दा उत्कृष्ट कम्पनीलाई ‘एएए’ रेटिङ प्रदान गर्छ भने कमजोर कम्पनीलाई ‘डी’ रेटिङ प्रदान गर्दछ ।