भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि भने साउन १४ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको छ।
कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता जारी गरेको छ। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यसैगरी कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्।
स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।
भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

Online Arthik










