माण्डु हाइड्रोपावरको कम्पनीले गत असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साउन ११ गतेसम्म आवेदन खुला गरिएको थियो। स्थानीयका लागि भने म्याद गरी आज साउन २६ गते बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो।
कम्पनीले १०० अंकित मूल्य १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँ आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ।
कुल कित्तामध्ये २ लाख ७२ हजार ७३० कित्ता सेयर कम्पनीले स्थानीय बासिन्दाका लागि जारी गरेको छ। यो आईपीओमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाकोे भीमफेदी गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन गरिएको थियो।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आयोजनास्थल, प्रभु क्यापिटलको कार्यालय र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन तथा प्राइम कमर्सियल बैंकको भीमफेदी शाखा, कुमारी बैंकको बागमती शाखा र प्रभु बैंकको हेटौँडा शाखाबाट आवेदन दिन सक्नेछन्।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Online Arthik










