संखुवासभामा ४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना थपिने भएको छ। प्रस्तावित आयोजना संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ भएर बग्ने संखुवाखोलामा निर्माण गर्न लागिएको हो। यो आयोजना ह्याप्पी इनर्जी प्रालिले निर्माण गर्न लागेको छ।
कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको थियो। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पूर्याएको छ।
बिहीबार सार्वजनिक सूचना निकालेर विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ।
आयोजना नदी प्रवाहमा आधारित हो। यसको डिजाइन बहाव ९.६१ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ५१६ मिटर रहनेछ।
आयोजनाको वार्षिक सरदर २३५.४० गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। ३ हजार ६५० मिटरको हेडरेस टनेल हुनेछ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको सितलपाटी सबस्टेसनमा जोडिनेछ।
२०८५ जेठ ३० गतेदेखि व्यावसायिक उत्पादनको लक्ष्य कम्पनीले लिएको छ।

Online Arthik










