मिड सोलु हाइड्रोपावर कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गर्दै लिमीटेडले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने जानकारी दिएको छ । रु. १०० दरका साधारण सेयर खरीदका लागि छिटोमा असोज १ गतेभित्र र सो अवधिसम्म सबै सेयर बिक्री नभए ढिलोमा असोज ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड  २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकम बराबरको  रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निश्कासन गरी बाँडफाँड गरिसकिएको छ ।

जारी पूँजीको १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकिएको तथा १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि निश्कासन हुन लागेको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

कुल १.५ मेगावाट उत्पादन क्षमता रहेको यस आयोजनाले २०७९ पुसदेखि व्यवसायिक उत्पादन थालेको थियो ।

यो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि करिब ७ वर्ष रहेको छ भने आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि करिब १० वर्षको रहेको छ ।

विद्युत खरीद सम्झौता गर्दाको समयमा यो आयोजनाको लागत १ अर्ब ९२ करोड ६३ लाख अनुमान गरिएकोमा बैंक ब्याजदर लगायतका लागत बढ्न गई वास्तविक लगानी २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ पुगेको छ ।

कम्पनीको चालु आर्थिक वर्षमा इक्वीटी र दायीत्व २ अर्ब १६ करोड बढी रहेको छ भने १ अर्ब २१ करोडभन्दा बढी दीर्घकालीन ऋण रहेको छ । करिब ८ करोड अल्पकालीन ऋण रहेको छ।

यो कम्पनीले गत आर्थिक वर्ष ३ करोड बढी खूद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा ९ करोड ६८ लाख तथा आगामी आर्थिक वर्ष १० करोड ८८ लाख बढी नाफा हुने कम्पनीको प्रक्षेपण छ ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

 

तपाईको प्रतिक्रिया