बाराही हाइड्रोपावर पब्लिक लिमीटेड कम्पनीको पछिल्लो केही महिना विद्युत उत्पादन कार्य प्रभावित हुँदा र व्यवस्थापनले लत्तो छाडिदिंदा समस्या विकराल बन्न पुगेको हो ।

आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको कुल दायीत्व २३ करोड ६९ लाख रहेको थियो । यसमध्ये ९० लाख रुपैयाँ मात्र बैंकको ऋण रहेको छ । तर, वित्तीय दायीत्वको पछिल्लो किस्ता बुझाउन नसक्दा कम्पनी डिफल्टको सूचीमा परेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बाराही हाइड्रोले आफ्नो दायीत्वको पछिल्लो किस्ता नबुझाएको भन्दै यसअघि दिएको ‘बी’ माइनसको रेटिङ खारेज गरेको छ । इक्राले यो कम्पनीको रेटिङ डाउनग्रेड गरी ‘डी’मा झारिदिएको छ ।

‘यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायीत्व पूरा गर्न चुकिसकेका वा निकटमा चुक्ने अपेक्षा गरिएका हुन्छन् ।’–इक्राले विज्ञप्तिमार्फत भनेको छ ।

इक्रा नेपालको रेटिङ डिभीजनका प्रमुख शैलेश सुवेदीले बाराही हाइड्रोपावर कम्पनीले वित्तीय दायीत्व ३० दिनभित्र नतिरेको आफूहरुलाई सूचना प्राप्त भएको र सो सम्बन्धमा कम्पनीसँग बुझ्दा रेसपोन्स पनि नआएपछि रेटिङको ग्रेड घटाइएको प्रष्ट्याए।

‘हामीले ३० दिनभित्र पनि किस्ता तिर्न नसकेपछि डिफल्टमा लगेका हौं । यसका लागि कम्पनीले पहिला रकम तिर्नुपर्यो र त्यसको ९० दिनपछि मात्र उसको वित्तीय दायीत्व भुक्तानीको अवस्था हेरेर रेटिङको ग्रेड पुनः माथि आउनसक्छ ।’ सुवेदीले बिजशालासँग भने–‘आजको मितिमा सो कम्पनीले वित्तीय दायीत्व तिर्न सकेन र रेटिङ घटेर ‘डी’मा पुग्यो भनेर बुझ्नुभए हुन्छ ।’

बाराही हाइड्रोपावरस्थित स्रोतका अनुसार बाढीका कारण पछिल्लो समय यो आयोजनाको विद्युत उत्पादन प्रभावित भएको छ । यसले आम्दानी ठप्प हुँदा वित्तीय दायीत्व समयमै पूरा गर्न नसकिने अवस्था सिर्जना भएको हो ।

‘हाम्रो व्यवस्थापनले समेत आयोजनालाई चुस्तदुरुस्त बनाउनेतर्फ ध्यान दिएको छैन ।’ एक कर्मचारीले भने–‘अवस्था निकै जर्जर बनेको छ । जुनसुकै बेला आयोजना बन्द हुनसक्छ ।’

 

तपाईको प्रतिक्रिया