
नेपाली युवा उद्यमी मञ्चले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित सेवाको अवसरमा आफ्नो ऐतिहासिक २० औं वार्षिकोत्सव मनाएको छ । २००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्धमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्धमी सहित सुरु भएको नेपाली युवा उद्धमी मञ्चले आज २०औ वार्षिकोत्सव मनआएको हो ।
मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ । नेपाली युवा उद्यमी मञ्चले उद्धमीहरुलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको उल्लेख गरेको छ।
नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले यस महत्त्वपूर्ण अवसरको लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “हाम्रो २० औं वार्षिकोत्सवको यो उल्लेखनीय यात्रा, यसमा सहभागी भएका हाम्रा सदस्यहरू, साझेदारहरू र समर्थकहरूको अटल समर्पण र प्रतिबद्धताको प्रमाण हो । हामी हाम्रो अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर छौं ।“
मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ ।
मञ्चका अनुसार २०–वर्षको यात्राका निम्न उपलब्धिहरु भएका छन् ।
१. युवा सशक्तिकरणः नेपाली युवा उद्यमी मञ्च अनगिन्ती युवा उद्यमीहरूलाई सशक्तिकरण गर्न, मार्गदर्शन दिन, स्रोत र नेटवर्किङका अवसरहरू प्रदान गर्नका साथै उनीहरूका नवीन विचारहरूलाई सफल उद्यमहरूमा परिणत गर्न मद्दत गर्न अग्रपङ्क्तिमा रहेको छ ।
२. नीति एड्भोकेसी ः नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरूका लागि निरन्तर आवाजको रूपमा रहेको छ, जसले उद्यमशीलता र आर्थिक वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरि, नीति सुधारको वकालत गर्दै आएको छ ।
३. मेन्टरशिप कार्यक्रम ः मञ्चले उद्धमशिलाता सिक्न इच्छुक बिधार्थीहरुसँग अनुभवी व्यवसायीहरूलाई जोड्दै, धेरै मेन्टरशिप कार्यक्रमहरू आयोजना गरेको छ ।
४. च्याप्टर विस्तार ः नेपाली युवा उद्यमी मञ्च ले नेपालभर आफ्नो च्याप्टर विस्तार गरेको छ । लुम्बिनी प्रदेशमा हालै स्थापना भएको १३ औं नेपालगन्ज च्याप्टर सहित सबै ७ प्रदेशमा च्याप्टरहरू स्थापना गरेको छ ।
५. उद्धमशिलाता शिक्षाः मञ्चले लीडर्स प्रोजेक्ट, उद्यमशीलता बुटक्याम्प, युवा उद्यमशीलता सम्मेलन तथा युवा उद्यमशीलता सम्मेलन– महिला जस्ता विभिन्न कार्यक्रमहरू मार्फत उद्यमशीलता शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
६. मेड इन नेपाल अभियानः मञ्चले २००६ देखि “मेड इन नेपाल“ अभियानलाई गर्वका साथ मनाउँदै आएको छ, जसको मुख्य उद्देश्य स्थानीय उद्यमशीलता र उत्पादनहरूलाई प्रवर्द्धन र समर्थन गर्ने, उपभोक्ताहरूलाई स्वदेशी उत्पादनहरु उपभोग गर्न र समर्थन गर्न प्रोत्साहित गर्ने रहेको छ ।