
विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघले अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता २०२३ को अन्तिम चरणको खेलहरु सम्पन्न गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त खेलहरु असोज २१ गते सम्पन्न भएको हो ।
प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेन्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य भएका थिए।
द्धितीय चरणमा प्रवेश गर्न सफल भएका आठ वटा टोलिमध्ये विजय हुन सफल चार वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेन्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेन्ट बीच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तीय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।
ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र र्यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली ट्रफी र १ लाख रुपैयाँसहित प्रथम च्याम्पियन भएको छ ।
त्यस्तै नेपाल कलेज अफ म्यानेजमेन्ट कलेज ट्रफी र ५० हजार रुपैयाँ प्राप्त गरी द्धितीय र क्वेस्ट इन्टरनेशनल कलेज २५ हजार रुपैयाँ पुरस्कारसहित तेस्रो स्थानको ट्रफी हात पारेको छ ।
समापनका अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर संघ र मर्चेन्ट बैंकर एशोसिएसउनका पदाधिकारीहरुको उपस्थिति थियो ।