राष्ट्र बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। योसँगै वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत पनि नयाँ नोट साट्न सकिनेछ।

यसैगरी काठमाण्डौ उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार यसपालि पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्।

यसपालि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआरको पनि सुविधा उलब्ध गराइएको छ। ‘नयाँ नोट साट्न आउने ग्राहकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्नेछन्’, ती अधिकारीले भने।

राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ । नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नाेट साट्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकका शाखा कार्यालयहरू न्यूराेड, कीर्तिपुर, महाराजगन्ज, जाेरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नाेट साट्ने सकिने छ ।

राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू- सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानाे थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टाेखाबाट नयाँ नाेट साट्ना सकिने राष्ट्र बैंकले जनाएकाे छ ।

त्यस्तै कृषि बैंकका शाखाहरू- गाैशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकाेट र पुलचाेकबाट दसैंकाे लागि नयाँ नाेट साट्न सकिने छ ।

उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया