सरकारी स्वामित्वको हेटौँटा सिमेन्ट उद्योग विगत दिन हप्तादेखि बन्द अवस्थामा छ । किल्न मेसिन मर्मत र कच्चा पदार्थको अभावमा उद्योग बन्द भएको हो ।उद्योगमा मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गरेको छ। उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेका अनुसार दसैंको बिदा अघिसम्म उद्योग सञ्चालनमा रहँदा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको थियो।

आर्थिक संकटका कारण कोइला खरिद गर्न नसकेर सिमेन्ट उत्पादन बन्द गरिएको उनले बताए। आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने महाप्रबन्धक पाण्डेको भनाइ छ।

तीन लाख बोरा सिमेन्ट काठमाडौंसँगै मुलुकका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको छ। त्यसको आम्दानी कोइला खरिद लगाउने योजना उद्योगको छ। हेटौंडा सिमेन्ट चार दशक पुरानो सरकारी उद्योग हो। मेसिन जीर्ण हुँदै गएका छन्। सँगै उत्पादित सिमेन्टको बजारीकरणमा उद्योगले राम्रो व्यवस्थापन गर्न सकेको छैन।

कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको महाप्रबन्धक पाण्डेले बताए । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापित उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरु गरेको थियो। उद्योगमा करिब ३ सय ९० कर्मचारी कार्यरत छन्।

 

तपाईको प्रतिक्रिया