नेपाल धितोपत्र बोर्डले सोमबार अब म्युचुअल फण्डलाई सेयर बाँडफाँट भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको छ ।
सामुहिक लगानी कोष(म्युचुअल फण्ड) ले आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न नपाउने भएका छन् ।
बोर्डका अनुसार यो नियम आगामी कात्तिक २१ गतेबाट लागू हुने छ।
बोर्डका अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।
सोहि बमोजिमको व्यवस्था गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई बोर्डले निर्देशन दिएको छ।
यसैगरी धितोपत्र बाँडफाँट भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने पाइने छ।
म्युचुअल फण्डले कोटामार्फत् पाउँदै आएको विभिन्न कम्पनीको आईपीओ दोस्रो बजारमा बिक्रीमा आएको पहिलोे दिनमा नै ठूलो परिमाणमा बिक्री गरेर निस्कन थालेपछि यसबारे केहि समयदेखि लगानीकर्ताहरुले चर्को बिरोध गर्दै आएका थिए ।
कतिपय लगानीकर्ताले ढिलो भएपनि बोर्डले चालेको यो कदमले बजारमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । बोर्डको यो व्यवस्थापछि सेयर हात पार्ने कारोबार सुरु भएको पहिलो दिनमा नै धेरै सप्लाई दिएर बजार घटाउने फन्डहरुको प्रवृत्तिमाथि अंकुश लाग्ने अपेक्षा उनीहरुको छ ।

Online Arthik










