
हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २४ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३५.३८ प्रतिशतले धेरै हो । गत वर्ष यसले १७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी १ अर्ब २२ करोड ७७ लाखबाट बढेर १ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, अन्य आम्दानी (अदर डाइरेक्ट इन्कम) १ करोड ७ लाखबाट बढेर २ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा यसको नाफा बढ्नमा सहयोग पुगेको हो । कम्पनीले विभिन्न शीर्षकमा खर्च पनि कटौती गरेको छ ।
यसको कुल दावी भुक्तानी १ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ११ करोड थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ८४ लाख रुपैयाँ रहेको छ । ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) ५५ अर्ब ३६ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
असोजसम्म यसले ४ अर्ब २२ करोड ७२ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ११.०७ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ६२ पैसा रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।