नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिटल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसै सन्दर्भमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंकलाई सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मान गरेको छ ।

नेपालको भुक्तानी प्रणाली सञ्चालक एनसीएचएलले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा बैंकलाई आईतबार साँझ सम्मानित गरेको हो ।सोहीक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको जानकारी गराए । बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिङ्ग सफ्टवेयर भित्र्याउन आईटी इनह्यान्समेन्ट रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए ।

साथै, उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् ।

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, मोबाईल बैंकिङ्गमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

 

तपाईको प्रतिक्रिया