असार मसान्तको मासिक वित्तीय विवरण सार्वजनिक गरेका १७ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) को नाफा कुल ९ सय २० प्रतिशतले वृद्धि भएको छ । जेठमा करिब १७ करोड रुपैयाँ रहेको उक्त योजनाहरुको कुल नाफा असार मसान्तमा झन्डै एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार एक महिनाभन्दा कम अवधिमै यी कोषको नाफामा ९२० प्रतिशतभन्दा बढीको वृद्धि भएको हो ।

गत चैत १० देखि बन्द भएको सेयर बजार असार १५ गतेबाट पुनः सुरु भएको थियो । लकडाउनकै बीच दुई दिन कारोबार भए पनि त्यतिबेला नकारात्मक सर्किट लागेर धेरै समय कारोबार हुन सकेको थिएन ।

चैतपछि असारसम्म १४ गतेसम्म योजनाहरुले सेयर बजारमा लगानी गर्न पाएका थिएनन्। त्यस अवधिमा यस्ता म्युचुअल फण्ड योजनाहरुको आम्दानी केवल व्याजबाट मात्र भएको थियो ।

कोरोना भाइरसका कारण सेयर बजार असार १४ गतेसम्म बन्द रहेको थियो । सो अवधिमा नेप्से सूचक पनि ११ सय ७८ विन्दु आसपास थियो ।

असार १५ गतेपछि खुलेको सेयर बजार निरन्तर बढेर असारको अन्तिम दिन १३ सय ५८ विन्दु नजिक पुगेपछि योजनाहरुको सेयर मूल्य बढ्दै जाँदा नाफा पनि उच्च हुन पुगेको लक्ष्मी क्यापिटलका एक आधिकारीले बताए ।

असारमा कारोबार भएको १५ दिनमा नेप्से सूचक १८० अंकले बढेपछि योजनाहरुको एकाई मूल्य बढ्दा नाफा पनि बढेको हो । यसबेला योजनाहरुले सेयरबाट मनग्य नाफा उठाएका छन् ।

लक्ष्मी क्यापिटलका अनुसार असारमा सेयर बजार बढेकाले नाफा बढेको हो । योजनाहरुले चैत १० गतेदेखि असार १४ गतेसम्म बैंकमा राखेको मुद्धती निक्षेपबाट आएको व्याजदरमा र खर्च कटाएपछिको आम्दानी राखेको थियो । बजार बढेपछि सेयर बिक्री गरी नाफा कमाएको उक्त क्यापिटलको भनाई छ ।

सेयर बजार बढ्दा योजनाहरुले लगानी गरेको सेयरको मूल्य बढेपछि नाफा बढेको हो । अधिकांश योजनाको प्राप्त भएको आम्दानीले नाफा बढाएको छ । योजनाले व्याजबाट भएको आम्दानी र सेयर बिक्रीबाट भएको नाफा प्राप्त भएको आम्दानीमा राख्ने गरेका छन् ।

बैंकमा मुद्धतीमा भएको रकमबाट आउने व्याज र बिक्री नगरी होल्ड भएको सेयर बेच्दा आउने नाफाको मूल्य चाहीँ प्राप्त नभएको आम्दानीमा देखाउने गरेका छन् । असार मसान्तको विवरणमा अधिकांश योजनाको आम्दानी प्राप्त भएको आम्दानीमा देखिन्छ । जसले योजनाहरुले असारको बुकमा देखाउने हुँदा नाफा उच्च प्रतिशतले बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया