प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि सुधार देखिएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा वितरणयोग्य मुनाफा वृद्धि भएको छ । अघिल्लो आवमा ४१ लाख ५ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर ६ करोड ४१ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५८ करोड ३१ लाख बाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपातमा भने वृद्धि देखिएको छ । अघिल्लो आवमा २.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.०७ प्रतिशत पुगेको छ । यस्तै बैंकको कर्जा निक्षेप अनुपात ८८.८९ प्रतिशतबाट घटेर ८३.९२ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएको छ । यो अवधिमा बैंकको १३ अर्ब ७ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । अघिल्लो आवमा यो रकम ११ अर्ब २९ करोड ८० लाख रुपैयाँ थियो ।

त्यस्तै बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो ।

यस क्रममा बैंकले गत वर्षको सोहि अवधिभन्दा २४.४० प्रतिशतले वृद्धि गरी mकुल निक्षेप २ खर्ब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । बैंकको कर्जा लगानी समेत १६.६८ प्रतिशतले वृद्धि भएको छ । कर्जा लगानी १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१२.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात,९.०२ गुणा र तरलता अनुपात ३०.३६ गुणा कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया