इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि १५ दिने १५ अफर सार्वजनिक गरेको छ ।
इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूलाई विशेष धन्यवाद दिंदै नयाँ अफर सार्वजनिक गरेको जनाएको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जनमा रिलिज भएको इसेवाले २५ जनवरी २०१० देखि आफ्नो सेवा सुरु गरेको थियो ।
नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको भनाइ छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले आगामी दिनमा इसेवाको मोबाइल एप्सलाई सुपर एप्सको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।
१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् ।