युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ११९.८२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिसम्म सस्थाको खुद मुनाफा ३ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको खुद मुनाफा १ करोड ५१ लाख रुपैयाँमा सीमित थियो । त्यस्तै समीक्षा अवधिसम्म कर्जा प्रवाहमा २.१९ प्रतिशतको कमी आएपनि संस्थाले निक्षेप संकलन भने १.६२ प्रतिशतले बढाउन सफल भएको देखिन्छ । संस्थाले २ अर्ब ५४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।
वित्तीय संस्थाहरुको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । सस्थाले खुद ब्याज आम्दानी गत आवको तुलनामा ११.८३ प्रतिशतले खम्चिएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म १३ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको समीक्षा अवधिसम्म भने ११ करोड ८१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात भने वृद्धि भएकोृ छ । अघिल्लो आवमा ७.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९२ प्रतिशत पुगेको छ ।
संस्थाको इम्प्येरमेन्ट चार्जमा भने उल्लेख्य कमी आएको छ । गत आवको तुलनामा इम्प्येरमेन्ट चार्ज ५३.७७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिसम्म संस्थाको चुक्तापूँजी १४ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १८ करोड २५ लाख रुपैयाँ रहेको छ ।
संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी(ईपीएस) ४४.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.९५ गुणा र प्रतिसेयर नेटवर्थ ३२५.६४ रुपैयाँ रहेको छ ।