तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७१.०७ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

गत वर्षको पुससम्म ५३ करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी अहिले बढेर ६३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय पर्टयक आगमनमा सकारात्मक प्रभाव परेको छ । आन्तरिक तथा बाह्य पर्यटक बढ्नु अनि होटलमा हुने अरु आम्दानीका गतिविधिहरुमा विस्तार हुँदा मुनाफामा सकारात्मक प्रभाव परेको हो ।

हाल यस होटल्सको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । यसको जगेडा कोषमा ८६ करोड १० लाख रुपैयाँ जम्मा छ । गत वर्ष उक्त कोषमा ५४ करोड रुपैयाँ थियो । पुससम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ६३ पैसा पुगेको छ । गत वर्ष ५ रुपैयाँ ६३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ६४ पैसा छ ।

 

तपाईको प्रतिक्रिया