घोराही सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिमा भने १ करोड ५४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । घोराहीले उत्पादन बिक्रीबाट हुने आम्दानीमा झिनो वृद्धि हासिल गरेको छ । यता, अन्य आम्दानी घटेको छ भने बिक्री लागत र वित्तीय लागतमा वृद्धि हुँदा कम्पनी नोक्सानमा गएको हो ।
उत्पादन बिक्रीबाट १.४०% ले आम्दानी वृद्धि गरी १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । यद्दपि, बिक्री लागत १ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, अन्य आम्दानी १० करोडबाट घटेर ११ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय लागत १९ करोड रुपैयाँबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ । घोराही सिमेन्ट प्रतिसेयर ९.१६ रुपैयाँ नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ २२५.४५ पैसा रहेको छ ।