सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकेको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) १८ खर्ब तोकेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले १८ खर्बको बजेटको सिलिङ हुने जानकारी आफूलाई आएको बताएका छन् । ‘१८ खर्बको सिलिङ दिएको मलाई जानकारी आएको छ, आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट छलफल भइरहेको छ,’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणमा व्यस्त भएको छ । अर्थमन्त्रालयका अनुसार बजेटको कार्यान्वयन र बढीभन्दा बढी बजेट खर्च गर्नको लागि प्रक्रियागत ढंगले बजेट निर्माणको काम भइरहेको छ । बजेट निर्माणका अर्थमन्त्रालयले कार्यतालिका बनाएर काम गरिहरेको बुझिएको छ ।

आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । मन्त्रालयका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ ।

सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ । ब्याज भुक्तानीका लागि चालु खर्च र सावाँ फिर्ताका लागि वित्तीय व्यवस्थापन खर्च बढाउनु पर्नेहुन्छ ।

 

तपाईको प्रतिक्रिया