
नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता भएको छ । बिहिबार भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शशिकान्त दासको उपस्थितिमा सम्झौता भएको हो ।
नेपाल र भारतबीच सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्नको लागि नेपालको नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) बीच सम्झौता भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यस सम्झौता अनुरुप नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानीको लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गरिने छ। यस संयन्त्रको स्थापनापछि नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित रुपमा रेमिट्यान्स भुक्तानी सेवा उपलब्ध हुने रिजर्भ बैंक अफ इन्डियाले जनाएको छ। यस कदमले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्ने पनि रिजर्भ बैंक अफ इन्डियाले उल्लेख गरेको छ।
यस सेवा सुरु हुने मिति पछि घोषणा गरिने बताईएको छ ।