ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को तुलनामा १११ प्रतिशतले धेरै हो । होटलले सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
कम्पनीले ८० करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले लङ ट्रम ७७ करोड रुपैयाँ बराबरको कर्जाका लागि ‘केयर एनपीबीबी माइनस’बाट ‘केयर एनपी बीबी’ रेटिङ संशोधन गरेको छ । त्यसैगरी, सर्ट ट्रम ३ करोड रुपैयाँ कर्जाका लागि यसले ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको छ ।
यस होटलको ९० कोठाको क्षमता छ । यो चार तारे होटल हो । खाना र पिय पदार्थको बिक्री बढ्दा आम्दानी बढेको होटलले जनाएको छ । उच्च ब्याजका कारण कम्पनी भने खुद घाटामा रहेको रिपोर्टमा उल्लेख छ । होटलले सन् २०२१, जनवरी ०८ देखि रमदा इन्कोर काठमाडौंको व्यावसायिक नाममा पूर्ण रुपमा सञ्चालन सुरु गरेको थियो ।

Online Arthik










