
गठबन्धन परिवर्तनसँगै सोमबार उर्लिएको सेयर बजारमा आज करेक्सनमा गएको छ । राजनीतिक परिवर्तन र नयाँ अर्थमन्त्रीको हल्लाका कारण सोमबार बजार ३ पटकसम्म सर्किट ब्रेकर लागेपछि बजार बन्द भएको थियो । नेप्से ६ प्रतिशतले बढेपछि ५ मिनेट पनि पूरा कारोबार नभई बजार बन्द भएको थियो ।
नेप्से सूचक पनि ११७ अंकभन्दा बढीले वृद्धि भएको थियो । यो वृद्धि एक हिसाबले अस्वभाविक नै थियो । यसरी बढेको बजारबाट लगानीकर्ताले नाफा बुक गरेपछि मंगलबार बजार करेक्सनमा गएको अनुमान गरिएको छ ।
त्यसो त बजार चलिरहेको छ । इन्ट्रा डे कारोबारमा नेप्से करिब ५४ अंकले घटेको छ । (सवा १२ बजेसम्ममा) यो समाचार तयार पार्दासम्म करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भइसकेको छ ।
सेयर बजारमा राजनीतिक परिवर्तन, सरकार फेरबदल, नीतिगत परिवर्तन र बैंक ब्याजदरको प्रभाव पर्छ । तर अस्वभाविक घटबढ हुँदा पुनः बजारले सोही अनुसार प्रतिक्रिया पनि जनाउने गर्छ । तथापि, समग्रमा भने सेयर बजारको आगामी गन्तव्य औसतमा सकारात्मक नै हुने अनुमान गर्न सकिन्छ ।