मेडिकेयर हस्पिटल लिमिटेडले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएको थियो । यो हकप्रदमा फागुन ३० गतेसम्म कम्पनीको सेयर दर्ता किताबमा कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले हकप्रद सेयर खरिदका लागि चाबहिलमा रहेको मेडिकेयर हस्पिटलको रजिष्टर्ड कार्यालयमा दरखास्त आवेदन बुझाउनुपर्नेछ । हकप्रदमा आवेदनबापतको रकम भने माछापुच्छ्रे बैंक र सानिमा बैंकमा  बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर खरिदका  लागि लगानीकर्ताले आगामी वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त मितिसम्म आवेदन नआएमा कम्पनीको नियमावलीमा भएको. व्यवस्था अनुसार उक्त सेयर जफल हुनुका साथे कम्पनीको सम्पत्ति हुने र उक्त सेयरलाई कम्पनीले उपयुक्त ठानेमा बिक्री तथा बाँडफाँड गनै सक्ने कम्पनीले जनाएको छ ।

मेडिकेयर हस्पिटल लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनी भने होइन । कम्पनीले आईपीओ निष्कासनको तयारी भने गरिरहेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न  २६ औं वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएको थियो ।  कम्पनीले चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश गरि कुल ६३.१५ प्रतिशत लाभांश बितरण गरेको थियो ।

कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया