सुनको भाउले पछिल्लो रेकर्ड ब्रेक गरेर आज फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि चैत १६ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरिरहेको छ । यस्तै, विश्व बजारमा रुस र युक्रेनको द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि भएको पनि अनुमान गरिएको छ ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १५ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १५ सय २५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२।७५ डलर र चाँदी प्रतिऔंस २४।९५ डलरमा कारोबार भइरहेको छ ।