पिपुल्स पावर कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते गर्ने निर्णय गरेको हो । सभा लीसारा बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेेछ ।
सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगले पनि स्वीकृति दिएको छ । गत फागुन १९ गते बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नका कम्पनीलाई अनुमति दिएको हो । आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ । हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

Online Arthik










