सिंगटी हाइड्रो इनर्जीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर चैत ३० गते बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम १४५ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको सेयर चैत १२ गतेदेखि चैत २० गतेसम्म लिलामीमा ल्याएको हो ।
यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (वैशाख ३ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् ।