सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १४ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २३ करोड ६६ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३ अर्ब ४४ करोड रहेकोमा चालू आवमा बढेर रू. ५ अर्ब ८६ करोड पुगेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म रू. ४ अर्ब २८ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५९ दशमलव ७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ६८ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।
चालू आवमा कम्पनीले रू. ४ अर्ब १५ करोड ७१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले रू. २ अर्ब ५४ करोड १२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६३ दशमलव ५९ प्रतिशतले बढेको छ ।
कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३९ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ४१ पैसा पुगेको हो ।
चुक्ता पूँजी रू. ४ अर्ब ५४ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू.१ अर्ब ४० करोड, शेयर प्रिमियममा रू. ३ करोड ७२ लाख महाविपत्ति कोषमा रू. ३३ करोड १३ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५१ दशमलव ८७ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ १५ पैसा रहेको छ ।