सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२४ को पहिलो त्रैमासमा ९३२.८% ले सञ्चालन नाफा वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिको आशावादका कारण मेमोरी चिपको मूल्य बढेपछि कम्पनीको सञ्चालन नाफामा उल्लेख्य सुधार भएको सीएनबीसीले लेखेको छ ।

पहिलो त्रैमासमा सामसुङको आम्दानी ७१९.२ खर्ब कोरियाली वोन (५२.३ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन नाफा ६६.१ खर्ब कोरियाली वोन पुगेको छ । सामसुङको आम्दानी १ वर्ष अघिको तुलनामा १२.८१% ले बढेको हो । विश्वको सबैभन्दा ठूलो चिप निर्माता सामसुङले कोभिडपछि मागमा आएको कमीका कारण सन् २०२३ मा भने ठूलो घाटा व्यहोरेको थियो ।

सेमिकन्डक्टरको मागमा वृद्धि भएपछि कम्पनीको सञ्चालन नाफामा भारी सुधार भएको हो । सामसुङले आफ्नो सेमिकन्डक्टर व्यवसायले पहिलो त्रैमासमा १९.१ खर्ब कोरियन वोन सञ्चालन नाफा कमाएको बताएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४५.८ खर्ब वोन र चौथो त्रैमासमा २१.८ खर्ब वोन घाटामा थियो ।

यता, कम्पनीले दोस्रो र तेस्रो त्रैमासमा भने पहिलो त्रैमासको तुलनामा सञ्चालन नाफा केही कम हुनसक्ने अनुमान गरेको छ । मंगलबार सामसुङको सेयर भाउ १२ सय वोनले बढेर प्रतिकित्ता ७७,९०० वोन पुगेको छ । बजार विश्लेषकहरुले सामसुङको सेयर भाउ १ लाख २६ हजार वोनसम्म पुग्नसक्ने प्रक्षेपण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया