सिजी फुड्स नेपाल प्रालि अन्तर्गतको प्रसिद्ध खाद्य ब्राण्ड वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले वाइवाइ चाउचाउको गुणस्तरको विषयमा भ्रामक सन्देश फैलाउनेलाई कानुनी कारबाही हुने चेतावनी दिएका छन् । केही समययता वाइवाइको गुणस्तरबारे फैलाइएका सन्देश तथ्यहीन र भ्रामक रहेको उनको भनाइ छ ।
‘वाइवाइ चाउचाउका विषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरू लेख्ने, बोल्ने र भिडिओ बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानुनी कार्य हो,’ उनले भने, ‘यस्तो कार्य गर्नेहरूविरुद्ध प्रचलित कानुनअनुसार कारवाही हुने छ ।’
चौधरी ग्रुप (सिजी) ले करिब चार दशक वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको छ । यसमा निहित स्वाद र गुणस्तरका कारण यो एसियाली मुलुकहरूमा मात्र नभई विश्वका धेरै खाद्यबजारमा लोकप्रिय हुँदै गएको उनको भनाइ छ । तर, केही दिनयता यसको गुणस्तरबारे भ्रम फैलाउने कोसिस भइरहेकोले कानुनी कारबाही हुने उनको चेतावनी छ ।