ताप्लेजुङको पाथीभरा क्षेत्रका रुख काटेको विरोधमा मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । पाथीभरामा केबलकार निर्माणका लागि जबरजस्ति रुख काटेको भन्दै बुधबार र बिहिबार यातायात बन्द आवहान गरिएको हो । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका संस्थाहरुले बन्द आह्वान गरेका हुन् । बन्दका कारण पाँचथर र ताप्लेजुङको यातायात ठप्प छ । मेची राजमार्ग र तमोर करिडोरमा चल्ने छोटा तथा लामो दुरीका सवारी सधान चल्न सकेका छैनन् ।
रुख काटेकोमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने, केवलकार बनाउने योजना खारेज गर्नुपर्ने लगायतका माग राखेर यातायात बन्द गरिएको हो । केवलकार निर्माणका लागि निर्माण कम्पनीले सोमबारदेखि रुख काट्न थालेको थियो । रुख कटान अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।