इन्द्रेणी मसरुम फर्मले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका– १ स्थित चिल्ताङमा केही वर्षदेखि व्यावसायिकरूपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने उद्देश्यका साथ काम गर्दै आइरहेको बताएको छ ।
नेपालमा छरिएर रहेको कृषि व्यवसायअन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरूलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरूको आकर्षणको केन्द्रविन्दु बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यअनुसार काम तथा सोसँग सम्बन्धित क्रियाकलापहरू गरिरहेको कम्पनीले जनाएको छ ।
हाल व्यावसायिकरूपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ । गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ ।
उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असंख्य लाभ तथा आर्थिक लाभसमेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो ।
हाल यस संस्थाले विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरूबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ वटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ । बजारमा हुने प्रतिदिन १५ हजार केजीको माग आपूर्तिमा सहजता पुग्ने गरी उत्पादन वृद्धि गर्न सर्वसाधारणहरूको तर्फबाट सहभागिता बढाउन रहेको कम्पनीको भनाइ छ।
निकट भविष्यमा यस कम्पनीले सेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुरको हेटौंडाबाट पनि व्यावसायिक रूपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बीउ र सामाग्री बिक्री केन्द्र खोलि बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य कम्पनीको छ।
चित्लाङ र हेटौडाबाट उत्पादन सुरु भएपश्चात दैनिक २ हजार ५ सय केजीभन्दा माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने दाबी कम्पनीको छ।

Online Arthik









