गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा शिवम् सिमेन्ट कम्पनीले २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ५८ प्रतिशत कम नाफा गरेको हो ।

निर्माण क्षेत्रमा देखिएको सिथिलता, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन क्षमता अत्याधिक हुनु, विकास निर्माणसँग सम्बन्धीत सरकारी परियोजनाहरूका लागि छुट्याईएको बजेट न्यून खर्च हुनु, ठेकेदारहरूले निमार्ण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाउन नसकेका कारण कम्पनीको आम्दानी घटेको बताइएको छ ।

गत असारसम्म कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेर आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्ष १ अर्ब २८ करोड ५४ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ३७ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष १९ करोड ८५ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च २२ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ४ करोड ८९ लाख रुपैयाँ र कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले प्रशासनिक खर्च २२ करोड ३१ लख रुपैयाँ, वित्तीय खर्च ९ करोड ६६ लाख रुपैयाँ र कुल खर्च ९९ करोड ८१ लाख रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १.५६ गुणा छ ।

 

तपाईको प्रतिक्रिया