आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबारको शुभारम्भ गरेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बनेको आइएमईको चुक्तापुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए । डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।

सोहि अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । अध्यक्ष ढकालले भने, ‘सन् २००१ अर्थात् आज भन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।’

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए । अध्यक्ष ढकालले भने, जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताए ।

आइएमईमा गाभिएको जिएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया जापानलगायतका उदाउँदा श्रम गन्तव्यहरु लक्षित गरी सेवा दिइरहेको जिएमई रेमिटलाई सम्मानजनक रुपमा आइएमईमा गाभिन सफल भएको बताए ।

 

 

तपाईको प्रतिक्रिया