काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।
मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास रहि आएको छ ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।
जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाँटी, स्याउ, नास्पाती, काक्रो आदि बाँढ्ने गर्छन् ।
गाईजात्रा पर्वको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसर्थ आज सेयर बजारलगायतका बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।