नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को प्रतिनिधि रहने हालको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा उल्लेखित संस्थाका प्रतिनिधि नराख्ने व्यवस्था प्रस्ताव गरिएको हो । विगतमा ऐनमा उक्त व्यवस्था प्रस्ताव गरिएपनि संसद्बाट पारित हुने बेला हटेको थियो ।
अहिले संशोधित विधेयकमा पुनः सोही व्यवस्था समेटिएको छ । ‘स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनिकरण गर्न यी संस्थाका प्रतिनिधिलाई बोर्डमा सदस्य नहुने व्यवस्था गर्न आवश्यक भएकाले,’ संशोधित विधेयकमा भनिएको छ ।
ऐनमा आईक्यान र महासंघको प्रतिनिधि भनेपनि हाल उपाध्यक्षले प्रतिनिधित्व गर्दै आएका छन् । महासंघका प्रतिनिधि धितोपत्र बोर्ड मातहतकै कम्पनीहरुमा आवद्ध हुने र आईक्यानका प्रतिनिधि पनि व्यवसायीक रुपमा विभिन्न सूचीकृत कम्पनीहरुमा आवद्ध हुने भएकाले स्वार्थ बाँझिएको भन्दै बेला बेलामा विवाद हुने गरेको छ ।
यहीकारण धितोपत्र बोर्डको सञ्चालक समितिमा उल्लिखित संस्थाका प्रतिनिधि हटाउने चर्चा बेला बेलामा चलेपनि हट्न सकेको थिएन । यसपटक संसद्मा दर्ता भएको सो विधेयक जस्ताको त्यस्तै पारित भएपछि बोर्डका सञ्चालक समितिमा महासंघ र आईक्यानका प्रतिनिधि रहने छैनन्।