क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रक्रियामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट मिति २०८१।०५।०७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी “[ICRANP-IR] BB” रेटिङ पाएको छ । इक्रा नेपालकाअनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको मानिन्छ ।

साथै, क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड र आरबिबि म्युचुअल फण्ड १ सँग मिति २०८१।०५।१७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभूतिकर्ताको रूपमा नियुक्तसमेत गरिसकेको छ ।

स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरूमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरणसहितको व्यापार विस्तार, गुणस्तरीय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रक्रियाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ ।

यस कम्पनीको जारी पूँजी रु. ७५,००,००,०००/- (अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र) को ३० प्रतिशत अर्थात रु. २२,५०,००,०००/- (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) रकम बराबरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई प्रति शेयर रु. १००/- अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ ।

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु जीवन बीमा सेवा पुर्‍याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७९/१२/२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालयमार्फत् प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष रूपमा सुधार गरी पिछडीएको क्षेत्र, विपन्न वर्ग, सिमान्तकृत समुदाय तथा बीमाको दायरामा नआएका व्यक्तिहरूसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा भविष्यमा ग्राहकहरूबाट माग भए बमोजिमका नयाँ सेवा सुविधाहरू आफ्ना ग्राहक वर्गमा ल्याउन प्रयत्नरत रही थप सेवा विस्तार गर्दै जाने रणनीति योजनासहित अघि बढिरहेको अवस्थामा रहेकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।

तपाईको प्रतिक्रिया