बुधबार दोधारा चाँदनी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण हुन्छ । यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौँ ।’

उहाँले निकट भविष्यमा नै दार्चुलाको तिंङकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताउनुभयो । ‘उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौँ । त्यसै गफ गरेको होइन, उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ, गरेपछि त बन्दो रहेछ त ।’

त्यसैगरी, उहाँले संसदमा भएका दुई ठूला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

तीनदिने भ्रमणमा गृहजिल्ला पुग्नुभएका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकनसमेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया