नेपाल राष्ट्र बैंकले चाडपर्वमा डिजिटल कारोबारलाई प्रत्साहन गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट कारोबार सीमा बढाएको छ। केन्द्रीय बैंकले निश्चित अवधिका लागि हालको वालेटमा पैसा जम्मा गर्ने र झिक्ने दैनिक सीमा तीन गुणाले वृद्धि गरेको हो। मंगलबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै असोज २१ देखि कात्तिक २२ सम्मका लागि वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको हो।
जारी परिपत्रमा भनिएको छ, ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा बडादसैं अवसरमा २०८१ असोज २१ देखि २०८१ कात्तिक १ गते कोजाग्रत पूर्णिमाका दिनसम्म र दीपावली तथा छठ पर्व अवसरमा २०८१ कात्तिक १५ देखि कात्तिक २२ सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।’
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।

Online Arthik










