उद्योगीले सिमेन्ट, छडसहितका निर्माण सामग्रीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी तथा व्यवसायी र निर्माण व्यसायीलाई छलफलमा बोलाएको छ ।
विभागका अधिकारीहरुले दुवै पक्षसँग आइतबार छलफल गर्ने भएका छन् । निर्माण सिजनमा सिमेन्ट, छडसहितको निर्माण सामग्रीको मूल्य बढाएर अनावश्यक दुःख दिएको भन्दै निर्माण व्यवसायीले मूल्य समायोजन गर्नुपर्ने बताएका छन् । महासंघका महासचिव रोशन दाहालका अनुसार सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा कार्टेलिङ गरी सिमेन्टमा मूल्यवृद्धि गरिएको छ । उनले निर्माणकार्य हुने अहिलेकै सिजनमा सीमित सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकोले भुक्तानी अभावलगयात कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको बताए ।
यसैगरी, निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधि पनि थप गर्नुपर्ने उनले बताए। ‘राष्ट्र बैंकले ऋणको सावाँ र व्याज तिर्ने अवधि मंसिर मसान्तसम्म थप गरेको थियो। तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेको छैनौँ। त्यो अवस्थामा मंसिरभित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन।
राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन। त्यो अवस्थामा मंसिरभित्र हामीले ऋण तिर्नुपर्ने दबाब छ। यसमा सरकारले ध्यान दिनुपर्छ।’
मंसिरभित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरू कालोसूचीमा पर्नेछन्। त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए।