
४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी जुटेको छ । आयोजना प्रवर्द्धक गुराँस हाइड्रो एवं लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको अनुमानित लागत ८ अर्ब २० करोडमध्ये बैंकहरूले ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेस्ट बैंकको १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकको १ अर्ब २५ करोड र सानिमा बैंकको ७५ करोड रुपैयाँ ऋण लगानी हुनेछ । यो समग्रमा ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत पुँजी भने प्रवर्द्धकहरूबाट जुटाइनेछ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको प्रवर्द्धकले जनाएको छ । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको संखुवासभास्थित सित्तलपाटी सबस्टेसनमा जोडिनेछ ।
कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घण्टा र वर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरूसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत्लगायत हरित ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
निर्माण सकिएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधीन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित कुल ६४१.११५ मेगावाट क्षमताका २९ आयोजनामा सिटिजन्स बैंकको लगानी छ ।