
माउण्टेन इनर्जी नेपाल कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार पुस २८ गते साधारणसभा सम्पन्न भएको हाे ।
कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ ।
साधारणसभाले एक जना महिला संचालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रवन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।